काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनवरीमा भएको ठूलो खर्च भावी ट्रान्सफर प्रतिबन्धको तयारीका लागि नभएको बताएका छन्। साथै प्रिमियर लिगको वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपबारे एक महिनाभित्र निर्णय आउने जनाएका छन्।
प्रिमियर लिगको साबिक विजेता सिटीले जनवरी ट्रान्सफर विन्डोमा ओमार मारमौश, निको गोन्जालेज, अब्दुकोदिर खुसानोभ, भिटोर राइस र जुम बहलाई भित्र्याउँदै २२४ मिलियनभन्दा बढी खर्च गरेको थियो।
सन् २०२३ मा सिटीमाथि वित्तीय नियम उल्लंघनको ११५ आरोप लगाइएको थियो। स्वतन्त्र आयोगले गत सेप्टेम्बर १६ देखि डिसेम्बर ६ सम्म सुनुवाइ गरेको थियो। यो आरोपले सन् २००९ देखि २०२२–२३ सिजनसम्मको अवधिलाई समेट्छ। सिटीले कुनै गल्ती नगरेको दाबी गर्दै आएको छ।
यदि सिटी दोषी ठहरिएमा क्लबले ठूलो जरिवाना, अंक कटौती, ट्रान्सफर प्रतिबन्ध, उपाधि गुमाउने वा प्रिमियर लिगबाट तल झर्नेजस्ता सजाय भोग्नुपर्ने सम्भावना छ। ग्वार्डिओलालाई सिटीको हालैको खर्च सम्भावित ट्रान्सफर प्रतिबन्धको असर कम गर्न गरिएको हो कि भन्ने प्रश्न गर्दा उनले भने, ‘म यस कुरामा सहमत छैन। पछिल्लो पाँच वर्षमा शीर्ष ६ क्लबमध्ये हामी सबैभन्दा कम नेट खर्च गर्ने क्लब हौं। यो ट्रान्सफर विन्डोमा खर्च गरे पनि हामी चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनह्याम र लिभरपुलभन्दा टाढा छौं।’
उनले थपे, ‘पछिल्ला केही सिजनमा हामीले धेरै खेलाडी बिक्री गरेका छौं। तर, अझै पनि यो क्लबलाई पैसाले मात्र चल्ने भन्ने धारणा बनाएका छन्। एक महिनापछि फैसलासँगै सत्य बाहिर आउनेछ। त्यसपछि मात्र म मेरो धारणा व्यक्त गर्नेछु।’ शनिबार सिटीले एफए कपको चौथो चरणमा तेस्रो श्रेणीको लेटन ओरियन्टसँग प्रतिस्पर्धा गर्नेछ।