काठमाडौं। ह्यारी केनको दुई पेनाल्टी गोल र सब्स्टिच्युट लिरोय सानेको ट्याप–इनले बायर्न म्युनिखलाई शुक्रबार ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको छ। योसँगै शीर्ष स्थानमा रहेको बायर्नले बुन्डेसलिगामा नौ अंकको अग्रता लिएको छ।
सुरुआतदेखि नै बायर्नले दबाब राखेपनि गोल गर्न ६१औं मिनेटसम्म कुर्नुपर्यो। एन्थोनी जुंगले बक्सभित्र ह्यान्ड बल गरेको ठहर गर्दै बायर्नले पेनाल्टी पायो, जसलाई केनले आफ्नो २०औं लिग गोलमा परिणत गरे।
८१औं मिनेटमा सानेले कोनराड लाइमरको क्रसलाई ट्याप–इन गर्दै बायर्नको अग्रता २–० मा पुर्याए। उनी किङ्सले कोमानको स्थानमा मैदान प्रवेश गरेका थिए। इन्ज्युरी समयको नवौं मिनेटमा केनले आफ्नो दोस्रो पेनाल्टी गोल गर्दै खेललाई ३–० मा टुंग्याए।
ब्रेमेनका गोलकिपर माइकल जेटेररले उत्कृष्ट प्रदर्शन गर्दै स्कोरलाई थप बढ्न दिएनन्। उनले दोस्रो हाफमा डायोट उपामेकानोलाई गरेको हेडरलाई एक हातले उत्कृष्ट बचाउ गरे।
बायर्नको यो सिजन घरेलु मैदानमा ११ खेलमा १०औं जित हो। साथै २०२५ को सुरुआतदेखि हालसम्म खेलेका नौ खेलमध्ये आठमा जित हासिल गरेको हो। बायर्नको २१ खेलबाट ५४ अंक छ। ब्रेमेन भने समान खेलबाट ३०अंकसहित तालिकाको आठौं स्थानमा छ।