एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले विश्वकपको लागि रुसमा रहेका अर्जेन्टिनी टिमलाई भेट्ने इच्छा व्यक्त गरेका छन् ।
विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग पराजित भएको म्यारोडोनाले अर्जेन्टिना टिमलाई भेट्ने इच्छा व्यक्त गरेका हुन् । अर्जेन्टिना क्रोएसियासँग ३ – ० ले स्तब्ध भएपछि म्यारोडोनाले टोलीका खेलाडी र प्रशिक्षकसँग भेट्ने चाहना राखेका हुन् ।
क्रोएसियासँगको लज्जास्पद हारसँगै अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कमजोर भएको थियो । अब मंगलबार नाइजेरियासँग अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल खेल्दैछ । उक्त खेलअघि म्यारोडोनाले टिमसँग भेट्ने इच्छा व्यक्त गरेका हुन् । दोस्रो चरणमा पुग्ने अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।
म्यारोडोनाले भेनेजुएलाको टेलिभिजनसँग कुरा गर्दै क्रोएसियासँगको प्रदर्शनपछि आफुलाई निकै निरास बनाएको बताएका छन् । टेलिसेर टेलिभिजनसँग म्यारोडोनाले भनेका छन्, 'हामी हाम्रो सम्मानलाई रक्षा गर्न जादै छौ । मलाई निकै रिस उठेको छ र निरास पनि । किनभने जसले यो जर्सी पहिरिएको छ उनीहरु क्रोएसिया टिमसँग ध्वस्त भएको हेर्न सक्दैनन् किनकी उनीहरु जर्मनी हैन, ब्राजिल हैन , नेदरल्याण्ड र स्पेन हैन ।'
यस्तै म्यारोडोनाले अर्जेन्टिना फुटबल संघको समेत आलोचना गरेका छन् । म्यारोडोना अर्जेन्टिनाका विश्वकप विजेता खेलाडी हुन् । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा म्यारोडोना नायक रहेका थिए । उनले गोल्डेनबुट समेत हात पारेका थिए ।