काठमाडौं। मुख्यप्रशिक्षक पेप ग्वार्डिओलाले अघिल्ला प्रिमियर लिगमा लगातार चारपल्ट उपाधि जित्नुलाई म्यानचेस्टर सिटीको स्वर्णिम युग मानेका छन्। हालको कठिन परिस्थितिले ती उपाधि जितेको समयमा आफ्नो टोली कति उत्कृष्ट थियो भन्ने कुरा अझ प्रस्टसँग सम्झाएको उनले बताए।
‘बक्सिङ डे’ मा एभर्टनसँगको १–१ को बराबरीपछि सिटी तालिकाको सातौं स्थानमा झरेको छ। टोली शीर्ष चारभन्दा पाँच अंकले पछाडि छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १४ अंकले पछि छ। सिटीले सबै प्रतियोगितामा आफ्ना पछिल्ला १३ मध्ये एउटा खेल मात्रै जित हात पार्न सफल भएको छ।
ग्वार्डिओलाले आइतबारको खेलपछि भने, ‘यसले मलाई हाम्रो अघिल्लो सफलता कति ठूलो थियो भन्ने कुरा अझै स्पष्ट गराएको छ। चोटपटक र कठिन परिस्थितिका बावजुद पनि धेरै वर्षसम्म हामी अविश्वसनीय रूपमा स्थिर र सफल थियौं।’
उनी थप्छन्, ‘यसपल्ट केही लय खस्किने अपेक्षा त थियो तर, यति ठूलो हुने कल्पना गरेको थिइनँ। हाम्रो अहिलेको कठिनाइको मुख्य कारण भनेकै ७–८ प्रमुख खेलाडी घाइते हुनु हो। तर, मैले टोलीको मिहिनत, अभ्यासमा देखाएको समर्पण र ध्यानलाई सकारात्मक देखेको छु। शनिबारको खेलले प्रगतिका संकेत देखायो तर, नतिजा भने हामीले चाहेको अनुसार आएन।’
५३ वर्षीय ग्वार्डिओलाले केही महिनाअघि दुई वर्षका लागि सम्झौता थप गरेका थिए। तर, उनले यसै साता सिटी यस सिजन च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने जोखिममा रहेको स्वीकार गरेका थिए। यो लगातार उपाधि जित्दै आएको टोलीका लागि अप्रत्याशित झट्का हुन सक्छ। तर, आफ्नो टोलीलाई पुनः उत्कृष्ट अवस्थामा फर्काउने आफ्नो इच्छामा कुनै कमी नआएको उनले बताए।
‘म हार मान्ने छैन। म यस स्थितिमा पनि संघर्ष गर्न चाहन्छु। अहिलेको चुनौतीलाई पार गर्दै हाम्रो प्रदर्शन सुधार्न हामी सबै एकजुट भएका छौं। मेरो उद्देश्य टिम व्यवस्थापक र यो क्लबलाई माया गर्ने सबैको अपेक्षा पूरा गर्नु हो,’ उनले भने।
यो चुनौतीले थप प्रेरित बनाएको हो कि भन्ने प्रश्नमा ग्वार्डिओलाले भने, ‘मेरो पूरा करियर नै खेलाडी र प्रशिक्षकका रूपमा यही मानसिकता लिएर बितेको छ। कुनै पनि काममा हामी राम्रो गर्न र समर्थकलाई खुसी बनाउन चाहन्छौं। यो त हाम्रो जिम्मेवारी हो।’
सिटीलाई अब आफ्नो प्रदर्शन सुधार्ने राम्रो मौका छ। आइतबार सिटीले अंक तालिकाको पुछारतिर रहेको लेस्टर सिटीसँग खेल्नेछ। त्यसपछि लेस्टरभन्दा तलका तीन टोलीसँग पनि सिटीले खेल्नेछ। यसमा नतिजा हात पारे सिटी फेरि ‘ट्र्याक’ मा फर्किनेछ।