काठमाडौं। पोर्चुगल तथा अल नासरका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई शुक्रबार ‘बेस्ट मिडल इस्ट प्लेयर’ अवार्डबाट सम्मानित गरिएको छ।
उनको साउदी अरबको फुटबलका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ग्लोबल सकर अवार्डमा सम्मानित गरिएको हो। करिब दुई वर्षअघि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोडेर रोनाल्डो फ्री एजेन्टका रूपमा नौ पटकको प्रो–लिग च्याम्पियन अल नासर पुगेका थिए।
रोनाल्डोको आगमनले आगामी पुस्तालाई प्रेरित गर्ने विश्वासका साथ उनलाई अल नासर भित्र्याइएको थियो। तर, अवार्ड समारोहका क्रममा रोनाल्डोले अर्को बहस सुरु गरे। उनले साउदी अरेबियन लिग फ्रान्सको लिग वानभन्दा उत्कृष्ट भएको जिद्दी कसे। ‘लिग वानभन्दा साउदी लिग पक्कै राम्रो छ।’
उनको थप दाबी थियो, ‘फ्रान्ससँग केवल पिएसजी छ। बाँकी सबै टिम कमजोर छन्। ३८, ३९, ४० डिग्री सेल्सियस गर्मीमा खेल्न कोसिस गर्नुहोस् अनि थाहा हुन्छ।’
रोनाल्डोको यो भनाइले लिग वानका टोलीहरूको प्रतिस्पर्धात्मक क्षमताबारे नयाँ विवाद खडा भएको छ। तथ्यका आधारमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले अहिलेसम्म १२ पटक लिग वान जितेको छ। सेन्ट–एटिएनले १०, मार्सेलीले नौ र मोनाको तथा नान्टेसले समान आठ पटक उपाधि जितेका छन्।
प्रशिक्षकको भूमिकामा जाने सोचबारे सोध्दा रोनाल्डोले त्यसलाई अस्वीकार गर्दै फुटबलको अर्को भूमिका अपनाउने संकेत दिए। ‘हेड कोच या म्यानेजर बन्ने? होइन, तर म सायद कुनै क्लबको मालिक बन्न सक्छु,’ उनले भने।
रोनाल्डोको यो भनाइले उनको भविष्यका योजनाबारे समर्थकलाई झनै उत्सुकता बढाएको छ। तर, उनकै भाषामा लिग वानजस्तो कमजोर भनिएको लिगको क्लबका मालिका हुन्छ कि साउदी अरेबियनजस्तो क्लबका मालिक बन्छन् त्यो समयले बताउने छ।