एजेन्सी । पोल्याण्ड रुसमा जारी फिफा विश्वकपबाट बाहिरिने पहिलो युरोपियन टोली बनेको छ । शनिबार राति भएको खेलमा कोलम्बियासँग ३ - ० ले स्तब्ध हुँदै पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले गोल गरे ।
खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका । उनले हेडबाट उकृष्ट गोल गरे । पहिलो हाफमा १ - ० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७० औं मिनेटमा फाल्काओले गोल गर्दै कोलम्बियालाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा काउड्राडोले गोल गर्दै कोलम्बियालाई ३ - ० को महत्वपूर्ण जित दिलाए । पोल्याण्डले खेलमा केहि राम्रो आक्रमण गरेपनि गोल निकाल्न नसक्दा कोलम्बियासँग स्तब्ध बनेको हो ।
जितसँगै समूह एचमा कोलम्बियाले ३ अंक जोडेको छ । कोलम्बियाको दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ । लगातार दुई खेल गुमाएको पोल्याण्ड भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको पहिलो खेलमा पोल्याण्ड सेनेगलसंग २–१ ले पराजित भएको थियो । कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भएको थियो । यो समूहमा जापान र सेनेगलको समान ४ - ४ अंक रहेको छ । र, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।
अब अन्तिम खेलमा कोलम्बियाले सेनेगल र पोल्याण्डले जापानसँग खेल्ने छ ।