काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थान गुमाएको छ। तर, प्रशिक्षक हान्सी फ्लिकले जाडो यामको विश्रामपछि बलियो पुनरागमन गर्न टोलीलाई प्रेरित गरेका छन्।
बार्सिलोनाले पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै सम्भावित २१ मध्ये मात्र पाँच अंक हासिल गरेको छ। घरेलु मैदानमा लगातार दुई खेलमा लेगानेस र लास पाल्माससँग हार बेहोरिसकेको बार्सिलोना (१८ खेलमा ३८ अंक) एट्लेटिकोभन्दा तीन अंक ले पछि परेको छ।
१८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग पहिलो हार बेहोरे पनि प्रशिक्षक फ्लिकले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले जाडोको विश्रामले टोलीलाई पुनः लयमा फर्कन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
फ्लिकले भने, ‘आज हामीले अविश्वसनीय प्रदर्शन गर्यौं। यो ब्रेक सही समयमा आएको जस्तो लाग्छ। हामीले खेलको प्रशंसा गर्नुपर्छ, तर यी कुराबाट पाठ सिक्नुपर्छ। नौ अंक गुमाउनु सामान्य कुरा होइन, हामीले यसलाई सुधार्नुपर्छ।’
उनले थपे, ‘लास पाल्मास र लेगानेससँग गुमाएका अंक अब विगतको कुरा भइसकेका छन्। तर, ब्रेकपछि हामी कति बलियो रूपमा पुनरागमन गर्छौं भन्ने कुरा सबैले देख्नेछन्। हारले हामी निराश भएका छौं, तर जीवन अघि बढ्नेछ।’
पहिलो हाफमा बार्सिलोनाले राम्रो प्रदर्शन गरेको थियो। पेड्रीले आधा घण्टामा गाभीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाका थिए। तर, बार्सिलोनाले ब्रेक पछि आफ्नो अग्रता बढाउन सकेन। राफिन्हाको चिप क्रस बारमा ठोक्कियो। रोबर्ट लेवान्डोस्कीले पनि ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको खराब प्रहारलाई जान ओब्लाकले बचाएका थिए।
६०औं मिनेटमा मार्क कासाडोले डिबक्सको किनारामा गरेको खराब क्लियरेन्सको फाइदा उठाउँदै डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए। वैकल्पिक खेलाडी सोर्लोथले इन्जुरी समयको ६ मिनेटपछि नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
बायर्न म्युनिखका पूर्वप्रशिक्षक फ्लिकले आफ्नो युवा टोलीप्रति गर्व व्यक्त गरेका छन् र आत्मविश्वास पुनःस्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्।
‘जब बिहान प्रशिक्षणका लागि गाडी चलाएर जान्छु, म खुशी महसुस गर्छु। यी खेलाडीसँग काम गर्नु मेरो लागि सौभाग्यको कुरा हो। अहिले ड्रेसिङ रुममा राम्रो वातावरण छैन, तर यो नै फुटबल हो। हामी फेरि मजबूतीका साथ फर्किनेछौं,’ उनले भने।