काठमाडौं। चार पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार पनि स्तब्धतापूर्ण प्रदर्शन जारी राखेको छ।
भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग सिटी २–१ ले पराजित भएको हो। भिल्लाको जितमा जोन डुरान र मोर्गन रोजर्सले गोल गरे। सिटीले पछिल्ला १२ खेलमा नौ हार र एउटा मात्र जित हात पार्न सकेको छ।
सिटीका लागि इन्जुरी समयमा फिल फोडेनले गोल फर्काएका थिए। तर, त्यो पर्याप्त भएन। १७ खेलमा २७ अंक जोडेको सिटी छैटौंमा झरेको छ। दुई खेल थप खेलेको लिभरपुलभन्दा सिटी नौ अंकले तल छ। २८ अंक पुर्याएको भिल्ला पाँचौं स्थानमा उक्लिएको छ।