काठमाडौं। झापा कपको उपाधिका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च बोइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्ने भएका छन्।
विर्तामोडस्थित डोमालाल रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० ले हराउँदै एनआरटीले चर्च बोइजसँगको भेट पक्का गरेको हो। खेलको निर्धारित समयसम्म कुनै पक्षले गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरे। जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाए।
खेलको प्लेयर अफ द म्याच एनआरटीका गोलरक्षक सुनार भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।