काठमाडौं। म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियास मांसपेशीको चोटका कारण चार सातासम्म मैदानबाहिर रहने पक्का भएको छ।
चार पटकको डिफेन्डिङ प्रिमियर लिग च्याम्पियन सिटीले पछिल्ला ११ खेलमा आठ खेलमा हार बेहोरेको छ भने एकमा मात्र जित निकालेको छ।
प्रशिक्षक पेप ग्वार्डिओलाले रोड्रीजस्ता प्रमुख खेलाडीको चोटका कारण आफ्नो टोलीको समस्या बढेको बताएका छन्।
ग्वार्डिओलाले आइतबार म्यानचेस्टर युनाइटेडसँग २–१ गोलअन्तरले पराजित हुँदा डायस घाइते भएको बताए।
‘युनाइटेडविरुद्धको ७५ मिनेटपछि उनले केही महसुस गरे। उनी बलियो छन् र पिचमा रहन चाहन्थे। तर, अहिले उनी घाइते भएका छन्,’ ग्वार्डिओलाले पत्रकार सम्मेलनमा भने।
एस्टन भिल्लाविरुद्धको शनिबारको खेलका लागि गोलकिपर एडरसनपनि शंकास्पद रहेको तर जोन स्टोन्स, माटेओ कोभासिक र म्यानुअल अकान्जीले टोलीमा स्थान बनाउन सक्ने उनले बताए। रिको लुइस निलम्बन पछि फेरि उपलब्ध छ।ग्वार्डिओलाले भने, ‘जति धेरै खेलाडी फर्कन्छन्, त्यति नै राम्रो हुन्छ।’