काठमाडौं। म्यानचेस्टर युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै टोटनह्याम इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। टोटनह्यामले अब फाइनल प्रवेशका लागि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको सामना गर्नेछ। अन्तिम चारको अर्को खेलमा आर्सनल र न्युक्यासल भिड्नेछन्।
टोटनह्याम हटस्पर स्टेडियममा १५औं मिनेटमा डोमिनिक सोलान्केले सुरुआती गोल गर्दै अग्रता दिलाए। ५४औं मिनेटमा सोलान्केले दोस्रो गोल थप्दै टोटनह्यामको अग्रता बलियो बनाए।
तोकिएको समयको मध्यतिर डेजन कुलुसेभ्स्कीले गोल गर्दै ३–० को अग्रता दिलाए। त्यसपछि युनाइटेडले कडा चुनौती दिएको थियो।
युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले जोशुआ जिर्कजी, अमाद डायलो र कोबी माइनुलाई टोलीमा समावेश गरेका थिए। जिर्कजीले ६४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३–१ मा फर्काए।
गोलकिपर फ्रेजर फोर्स्टरको गल्तीको फाइदा उठाउँदै डायलोले खेललाई ३–२ मा झारिदिए। युनाइटेडले बराबरीको लागि दबाब बढाएको थियो तर ८८औं मिनेटमा सन ह्युङ–मिनले टोटनह्यामका लागि निर्णायक गोल गरे।
खेलका क्रममा युनाइटेडका खेलाडीले टोटनह्यामका लुकास बर्गवालले बेइन्डिरलाई फाउल गरेको दाबी गरे। तर, प्रतियोगिताको यो चरणमा भिएआरको अभावले समीक्षाको सम्भावना थिएन। युनाइटेडका जोनी इभान्सले इन्जुरी समयमा गोल गर्दै टिमलाई आशा जिवित राखेका थिए। तर, यो जित पर्याप्त सिद्ध हुन सकेन।