काठमाडौं। अर्जेन्टिनाले सन् २०२४ मा फिफा वरीयतामा लगातार दोस्रो पटक शीर्ष स्थान हासिल गरेको छ।
गत नोभेम्बरमा सार्वजनिक भएको अघिल्लो वरीयतायता २१ वटा अन्तर्राष्ट्रिय खेल मात्र भएकाले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा सीमित परिवर्तन मात्र भएको छ।
फ्रान्सलाई पछि पार्दै कतार विश्वकप विजेता अर्जेन्टिनाल शीर्ष स्थानमा छ भने युरोपियन च्याम्पियन स्पेनले पोडियम पूरा गरेको छ। शीर्ष १० मा इङ्ल्यान्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, इटाली र जर्मनी छन्।
फिफाका अनुसार सन् २०२४ मा सर्वाधिक खेल खेलेको अंगोलाले पछिल्लो १२ महिनायताकै सबैभन्दा ठूलो प्रगति गर्दै ३२ स्थान माथि उक्लेर ८५औं स्थानमा पुगेको छ।अर्को वरीयता अप्रिलमा प्रकाशित हुनेछ।