काठमाडौं। कप्तान अञ्जन विष्टको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिर्तामोडस्थित डोमलाल राजजंशी रंगशालामा बिहीबार भएको खेलमा चित्लाङ एफसीलाई ५–१ ले हराउँदै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो। अब एनआरटीले फाइनल प्रवेश गर्न शनिबार इटहरीको राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ।
१३औं मिनेटमा अञ्जनको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। ३६औं मिनेटमा अञ्जनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए।
४२औं मिनेटमा जनक कोइरालाले गोल गर्दै चित्लाङलाई २–१ को स्थितिमा ल्याए। ६५औं नेमारले एनआरटीका लागि तेस्रो गोल गरे। त्यसको तीन मिनेपछि नै शिशिरले गोल गर्दा एनआरटीको अग्रता ४–१ मा पुग्यो। ८८औं मिनेटमा पेनाल्टीमार्फत अञ्जनले ह्याट्रिक पूरा गरे।