काठमाडौं। घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेपछि बार्सिलोनाका सहायक प्रशिक्षक मार्कस सोर्गले टोलीको संघर्षका कारण खेलाडीमा असर परेको बताएका छन्।
बार्सिलोना एक महिनाभन्दा बढी समयदेखि जित निकाल्न संघर्षरत छ। बार्सिलोनाले आइतबार लेगानेससँग १-० को हार बेहोरेको थियो। यससँगै बार्सिलोनाले लिगका पछिल्ला ६ खेलमा मात्र एक जित हात पारेका छन्।
बार्सिलोना र एट्लेटिको मड्रिड हाल ३८ अंकसहित तालिकाको शीर्ष दुई स्थानमा छन्। बार्सिलोना रियल मड्रिडसँग एक अंक अगाडि छ। तर, सिजनको सुरुआतमा भने बार्सिलोनाले शानदार प्रदर्शन गर्दै सबै प्रतियोगितामा १६ मध्ये १४ खेल जितेको थियो। तर, च्याम्पियन्स लिगमा ६ मध्ये पाँच खेल जिते पनि घरेलु मैदानको समस्याको समाधान भएको छैन।
सोर्गले डीएजेडएनसँग कुरा गर्दै भने, ‘हामीले यस अनुभवबाट सिक्नुपर्छ, किनकि तालिका अहिले चुनौतीपूर्ण छ। हामीले थोरै समयमै धेरै खेलहरू खेलेका छौं र टोली यसमा धेरै अनुभवी छैन।’ प्रशिक्षक ह्यान्सी फ्लिकको दुई खेलको प्रतिबन्धका कारण गत सप्ताह रियल बेटिससँग २-२ को बराबरीपछि सोर्गले आइतबार टोलीको नेतृत्व गरेका थिए।
सोर्गले हारको कारण एकाग्रताको अभावलाई दोष दिए। ‘पहिलो पाँच मिनेटमै हामीले गोल खायौं, जुन स्वीकार गर्न गाह्रो छ। हामीले राम्रो खेल नखेले पनि २० गोलको अवसर सिर्जना गर्न सफल भयौं। तर, कुनै गोल गर्न सकिनौं। यति धेरै अवसर गुमाउनुहुन्छ भने जित निकाल्न गाह्रो हुन्छ,’ उनले भने।
उनले थपे, ‘हामी लिगमा हालको प्रदर्शनबाट खुश छैनौं तर, यसलाई स्वीकार गर्नु पर्छ। हामी कडा मेहनत गरिरहेका छौं। हामी शीर्ष स्थानमा छौं, अग्रता गुमाउन सक्छौं तर, अझै पनि त्यो स्थानमा रहँदैछौं।’