काठमाडौं। पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीको खराब प्रर्दशनपछि आफूलाई प्रशिक्षकको रूपमा असफल रहेको स्वीकार गरेका छन्। आइतबार म्यानचेस्टर युनाइटेडसँग २–१ को हारले सिटीको निराशाजनक सिजन झन् खराब बनाएको छ।
चार पटक प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले पछिल्ला ११ खेलमध्ये आठ खेल गुमाएको छ, जसमा केवल एक खेल मात्र जित्न सफल भएको छ। हाल सिटी लिगको पाँचौं स्थानमा छ, जुन शीर्षस्थानमा रहेको लिभरपुलभन्दा ९ अंकले पछि हो। लिभरपुलले अझै एक खेल कम खेलेको छ।
हारपछि ग्वार्डिओलाले भने,‘म मुख्य प्रशिक्षक हुँ, तर पर्याप्त राम्रो छैन। यो सिधा कुरा हो। अहिले मैले आफ्नो भूमिका राम्रोसँग पूरा गर्न सकेको छैन। यो वास्तविकता हो।’
ग्वार्डिओलाले आफ्नो नेतृत्वमा सिटीलाई ऐतिहासिक सफलता दिलाएका छन्। उनले चार लगातार प्रिमियर लिगको उपाधि जित्नुका साथै सात सिजनमा ६ उपाधि सिटीको नाममा लेखाएका छन्। उनले च्याम्पियन्स लिगसहित १५ प्रमुख उपाधि जितेका छन्।
तर, अहिले उनी आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण समय सामना गरिरहेका छन्। बार्सिलोना, बायर्न म्युनिख र म्यानचेस्टर सिटीसँग ३३ ट्रफी जितिसकेका ग्वार्डिओलाको वर्तमान प्रदर्शनले आलोचना खेप्न परेको छ। अघिल्लो महिना दुई वर्षे नयाँ सम्झौता गरेको भए पनि क्लबको प्रदर्शनमा कुनै सुधार आएको छैन।
युनाइटेडविरुद्धको खेलमा सिटीले ८८औं मिनेटसम्म १–० को अग्रता लिएको थियो। तर, ब्रुनो फर्नान्डेस र आमद डायलोलका दुई छिटो गोलका कारण हार सहनुपर्यो। खेलपछि सिटीका समर्थकहरूले निराशाजनक प्रदर्शनप्रति आपत्ति जनाए।
‘मैले सुरुमै यो सिजन कठिन हुने अनुमान गरेको थिएँ। जितिरहेकै बेला पनि मैले यो कुरा भनेको थिएँ। तर, अहिले जति गाह्रो हुने मलाई अपेक्षा थिएन,’ ग्वार्डिओलाले भने।