काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति लिग लिडर बार्सिलोनाले लेगानेससँग १–० को हार बेहोरेको छ। तर, गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ। समान ३८ अंक भएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ।
वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गर्यो। ७०औं मिनेटमा अलेक्जेन्डर सोर्लोथले निर्णायक गोल गरे। यस जितले रियल मड्रिडलाई पछि पार्दै एट्लेटिकोलाई दोस्रो स्थानमा उक्लायो।
यस सिजन अवे खेलमा कमजोर प्रदर्शन गर्दै आएको गेटाफेले एट्लेटिकोलाई कडा चुनौती दिएको थियो। तर, गोलरक्षक यान ओब्लाकको उत्कृष्ट प्रदर्शनले एट्लेटिकोको जित सुनिश्चित गर्यो।
बार्सिलोनाको प्रदर्शन भने अपेक्षाकृत कमजोर रह्यो। लेगानेसविरुद्ध तीन अंक हासिल गर्दै शीर्षस्थान बलियो बनाउन सक्ने भए पनि बार्सिलोनाले त्यो अवसर गुमायो। ७४औं मिनेटमा सर्जियो गोन्जालेजको गोलले लेगानेसलाई जित दिलायो।
लेगानेसका गोलकिपर मार्को दिमित्रोभिचले पहिलो हाफमा बार्सिलोनाको धेरै अवसर रोक्दै शानदार खेल प्रस्तुत गरे। प्रशिक्षक हान्सी फ्लिकले दोस्रो हाफमा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो र लामिन यामाललाई मैदानमा उतारे पनि टोलीमा खासै सुधार आउन सकेन।
यो जितले लेगानेसलाई १५औं स्थानमा पुर्याएको छ, जसले रेलिगेसन जोनभन्दा चार अंकको दूरी बनाएको छ। यो नतिजाले लिगको थप रोमाञ्चकता बढाएको छ। आगामी शनिबार शीर्ष दुई टोली बार्सिलोना र एट्लेटिकोबीच भिडन्त हुनेछ, जुन उपाधि दौडको लागि निर्णायक हुन सक्छ।