काठमाडौं। अमाद डायलोले ९०औं मिनेटमा निर्णायक गोल गर्दै म्यानचेस्टर डर्बीमा युनाइटेडलाई आइतबार राति भएको इङ्लिस प्रिमियर लिग (इपिएल)मा २–१ को रोमाञ्चक जित दिलाएका छन्।
चार पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले ३६औं मिनेटमा जोस्को ग्वार्डिओलको हेड गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि खेलको अधिकांश समय सिटीले आफ्नो अग्रतालाई सुरक्षित राख्न सफल भएको देखिन्थ्यो। तर, युनाइटेडले कठिन अवस्थामा अवसर सिर्जना गर्न संघर्ष गरे पनि अन्तिम दुई मिनेटमा जादुमयी प्रदर्शन गर्न सफल रह्यो।
८८औं मिनेटमा म्याथियस नुनेसको अन्डरहिट ब्याकपासबाट डायलोले मौका पाएको थिए। नुनेसले आफ्नै डिबक्सभित्र डायलोलाई चुनौती दिएपछि रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिए। ब्रुनो फर्नान्डिसले पेनाल्टीमा कुनै गल्ती नगरी बराबरी गोल फर्काए। थप समयमा लिसान्द्रो मार्टिनेजको लामो पासलाई सदुपयोग गर्दै डायलोले सानदार गोल गरेर युनाइटेडको जित सुनिश्चित गरे।
युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमका लागि यो डर्बी जित विशेष रह्यो। ‘यो कठिन खेल थियो, तर हामी अन्त्यसम्म विश्वास गरिरह्यौं। यो जित हाम्रा सर्थकहरूका लागि निकै महत्त्वपूर्ण छ,’ उनले भने।
यो जित युनाइटेडका लागि निकै महत्वपूर्ण रह्यो। ११ खेलमा मात्र एक जित र आठ हार भोग्दै आएको युनाइटेडका लागि यो डर्बी जितले पुनरुत्थानको संकेत दिएको छ। तालिकामा युनाइटेड २२ अंकका साथ १३औं स्थानमा छ भने सिटी पाँचौं स्थानमा छ। दुवै टोलीबीच पाँच अंकको फरक छ।