काठमाडौं। वुल्भरह्याम्पटन वान्डरर्सले प्रिमियर लिगमा कमजोर प्रदर्शनकै कारण मुख्य प्रशिक्षक ग्यारी ओ’निललाई बर्खास्त गरेको छ। हाल तालिकाको १९औं स्थानमा रहेको वुल्भ्स रेलिगेसन जोनबाट बाहिर निस्कन संघर्षरत छ।
शनिबार भएको इप्सविच टाउनविरुद्ध २–१ को पराजयपछि क्लबले ओ’निल र उनको ब्याकरुम स्टाफसँग छुटिने निर्णय गरेको हो। जारी सिजनमा वुल्भ्सले पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ।
वुल्भ्सका कप्तान मारियो लेमिना र वेस्ट ह्याम युनाइटेडका जारोड बोवेनबीच भएको विवादपछि टोलीले मैदानबाहिर पनि समस्याको सामना गरिरहेको थियो। क्लबका अध्यक्ष जेफ शीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ग्यारीको योगदान र समर्पणका लागि आभारी छौं। उनलाई भविष्यका लागि शुभकामना छ।’
क्लबले सन् २०२६ सम्मका लागि अनुबन्ध गरेका ओ’निलले गत सिजन सुरु हुनु अगाडि वुल्भ्सको जिम्मेवारी लिएका थिए। स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइको बोर्डसँगको विवादका कारण क्लब छाडेपछि ओ’निललाई जिम्मेवारी दिइएको हो।
यद्यपि, वुल्भ्सले यस सिजन प्रारम्भिक १० खेलमा जित हासिल गर्न नसकेको भए पनि अक्टोबरमा साउथह्याम्पटन र फुलहमविरुद्ध लगातार जित हात पार्दै केही दबाब हटाएको थियो। तर, पछिल्ला चार खेलको हारले फेरि क्लबको प्रदर्शनमा प्रश्न उठेको छ।
ओ’निलको नेतृत्वमा वुल्भ्सले ६३ खेल खेलेको छ, जसमा २० जित, ११ बराबरी र ३२ हार खेपेको छ। क्लबका लागि पछिल्लो सिजन १४औं स्थानमा रहनु २०१८ मा प्रिमियर लिगमा उक्लिएयता सबभन्दा कमजोर नतिजा थियो।
वुल्भ्सको आगामी खेल डिसेम्बर २२ मा लेस्टर सिटीविरुद्ध हुनेछ। त्यसपछि महिनाको अन्त्यतिर म्यानचेस्टर युनाइटेड र टोटनह्यामजस्ता चुनौतीपूर्ण प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रनुपर्नेछ।