सम्झौता थपेर पछुताएका छैनन् ग्वार्डिओला

काठमाडौं। पेप ग्वार्डिओलाले आफ्नो क्लब म्यानचेस्टर सिटीको हालको संघर्षका बाबजुद दुई वर्षको नयाँ सम्झौतामा कुनै पछुतो नभएको बताएका छन्। गत महिना स्पेनिस प्रशिक्षकले नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसयता सिटीले सबै प्रतियोगितामा ६ मध्ये मात्र एक खेल जित्न सफल भएको छ।
इङ्लिस प्रिमियर लिगमा खराब प्रदर्शनले सिटीलाई शीर्ष स्थानको लिभरपुलभन्दा ९ अंकले पछाडि पारेको छ। साबिक विजेता सिटी २७ अंकसहित प्रिमियर लिगमा पाँचौं स्थानमा उक्लिएको छ। सिटी एफए कपबाट बाहिरिइसकेको छ भने युभेन्टससँग २–० ले पराजित भएपछि च्याम्पियन्स लिगबाट पनि बाहिरिने अवस्थामा पुगेको छ। यद्यपि, ग्वार्डिओलाले आफ्नो टोलीको हालको नतिजाले निद्रा र खानपानमा असर पारेको स्वीकार गरे पनि सम्झौता विस्तारबारे कुनै पछुतो नरहेको दाबी गरेका छन्।
‘मलाई कुनै पछुतो छैन, ग्वार्डिओलाले क्लबप्रति आफ्नो प्रतिबद्धताको बारेमा सोधिएको प्रश्नमा जवाफ दिए सिटीले मलाई बर्खास्त गर्न सक्छन्,‘त्यो बेग्लै कुरा हो। तर मैले क्लब छोड्ने सोच्न पनि सक्दिनँ।’
ग्वार्डिओला सन् २०१६ मा बायर्न म्युनिखबाट सिटी पुगेका थिए। सन् २०२३ मा उनले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी ऐतिहासिक ट्रेबल जिताएका थिए। त्यसपछि उनले आफ्नो स्थान क्लबको इतिहासमा सुरक्षित बनाएका छन्। आफ्नो टोलीलाई अझै पनि उनी विश्व फुटबलको उच्चतम स्थानमा राख्न चाहन्छन्।
ग्वार्डिओलाले भने, ‘हामीले विगतमा जुन उपलब्धि हासिल गरेका छौं, त्यसमा गर्व गर्न सक्छौं। त्यो सधैं हाम्रो लागि रहिरहनेछ। तर, अहिले जाने अवस्था होइन। अझै धेरै कामहरू बाँकी छन्।’
उनले थपे, ‘केही पनि सदाको लागि रहँदैन। तपाईं इमानदार हुनुपर्छ। यदि लगातार हार भइरह्यो भने म आफैं भन्छु, अब यसलाई सुधार्न अरू कसैलाई ल्याउनुपर्छ। तर, अहिलेलाई म त्यस्तो अवस्थामा छैन। म आफ्नो कामप्रति विश्वस्त छु। क्लबलाई थाहा छ कि हामीले विगतमा के गरेका छौं। परिस्थिति चुनौतीपूर्ण छ, तर हामी यसको सामना गर्न तयार छौं।’ यो प्रतिबद्धताका साथ सिटीलाई फेरि चौंकाउने प्रदर्शन गर्न सक्षम बनाउने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारेका छन्।












-1763904378702.png&w=3840&q=75)
