काठमाडौं। रायो भालेकानोसँग ३–३ गोलको रोमाञ्चक बराबरीमा खेलेसँगै रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिन्ने मौका गुमाएको छ।
खेलको ३६औं मिनेटभित्रै उनाइ लोपेज र अब्दुल मुमिनको गोलले रायोलाई २–० को सुरुआती अग्रता दिलायो। रियलका फेडेरिको भाल्भर्डेले शक्तिशाली प्रहार गर्दै खेल २–१ मा ल्याए। त्यसपछि रोड्रिगोको पासमा जुड बेलिङ्घमले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
दोस्रो हाफको ५६ औं मिनेटमा रोड्रिगोले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। तर, ६४औं मिनेटमा थिबाउट कोर्टोइसको पास गलत ठाउँमा जाँदा इसे पलाजोनले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्याए।
बायाँ तिघ्राको चोटका कारण स्ट्राइकर केलियन एमबाप्पे अनुपस्थित रहँदा रियल केही कमजोर देखियो। भिनिसियस जुनिअर वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिरे। अन्त्यतिर उनको प्रयासलाई रायोका गोलकिपर अगस्टो बाटल्लाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई बराबरीमा राखे। यस खेलपछि रियल दोस्रो स्थानमा रहँदै बार्सिलोनाभन्दा एक अंकले पछाडि छ।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले लोपेज र मुमिनलाई क्रसमा रोक्न नसके बताए। यस्तै, टोली डिफेन्समा कमजोरी देखाएको स्वीकार गरे।
"गत सिजन पनि हामीले यहाँ बराबरी खेलेका थियौं। तर, अन्ततः लिग जित्यौं। हामी सही बाटोमा छौं र यो बराबरीबाट अघि बढ्दै अर्को खेलमा ध्यान दिनु महत्त्वपूर्ण छ," उनले थपे। रियलले बुधबार इन्टरकन्टिनेन्टल कपको फाइनल खेलमा मेक्सिकन क्लब पाचुकासँग प्रतिस्पर्धा गर्नेछ। एन्सेलोट्टीले यस खेललाई उत्कृष्ट प्रदर्शन गर्दै २०२४ लाई बिदाइगर्ने अवसरका रूपमा व्याख्या गरे।