काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले झापा कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
आर्मीका लागि राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका खेलाडी जिलेस्पीजङ्ग कार्की र दिशान्त राईले गोल गरेका थिए। २५औं मिनेटमा कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरे। उनले मैदानको मध्यभागमा बललाई पोस्टको दिशा दिए।
आर्मीका लागि अर्को गोल ८२औं मिनेटमा सम्भव भयो। वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्तिम समयमा नीरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन्।
खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मीका दिशान्त राई घोषित भए। उनले नगद १० हजार पुरस्कार पाए। आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ।