काठमाडौं। रियल मड्रिडका स्टार खेलाडी केलियन एमबाप्पेको बायाँ तिघ्रामा चोट लागेको छ। क्लबले उनको चोटको प्रकृति र उनी कति समय मैदान बाहिर रहने भन्ने स्पष्ट गरेको छैन। तर, उनको प्रगतिमा निगरानी गरिने बताएको छ।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको रियलले आइतबार राति रायो भालेकानोसँग खेल्दैछ। त्यसपछि डिसेम्बर १८ मा कतारमा इन्टरकन्टिनेन्टल कपको फाइनल खेल्न जान तयारी गरिरहेको छ।
डिसेम्बर २२ मा सेभियासँगको खेलपछि क्लबले छोटो जाडो ब्रेक लिनेछ र त्यसपछि जनवरी ३ मा भ्यालेन्सियासँग खेल्नेछ।
एमबाप्पे च्याम्पियन्स लिगमा एटलान्टाविरुद्ध ३–२ को जितमा पहिलो गोल गरेपछि घाइते भएका थिए। फ्रान्सका कप्तानले पहिलो हाफमै गोल गरेका थिए।
पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियलमा आबद्ध भएपछि एमबाप्पेले २२ खेलमा १२ गोल गरे पनि प्रमुख प्रतिद्वन्द्वीविरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्।