काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी महिला यु–१९ एसिया कप खेल्न युएई जाने टोलीलाई बिदाइ गरेको छ।
क्यानले सोमबार पूजा महतोको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको थियो। सोही टोलीलाई बिहिबार बिदाइ गरेको हो। टोलीमा नेपाललाई विश्वकपमा पुर्याएका अधिकांश खेलाडीले नै निरन्तरता पाएका छन्। टोलीको उपकप्तानी सोनी पाख्रिनले गर्ने छिन्।
टोलीमा ओपनर साना प्रभिनसँगै सावित्री धामी, मध्यक्रमकी अलिशा यादब, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनीले पनि निरन्तरता पाएकी छन्। यस्तै, बलर सिमना केसी, रिया शर्मा, रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्माले पनि स्थान बनाएकी छन्।
यस्तै, कुशुम गोद्दार, किरणकुमारी कुँवर र अनु कडायतलाई पनि टोलीमा समावेश गरिएको छ। नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन्। नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसको भोलिपल्ट नै भारतसँग खेल्ने तय छ।