काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत्र (मार्च) देखि सुरु हुने भएको छ। चौधरी ग्रुपनिकट कम्पनी नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्वीकृति लिएर अगाडि बढाएको एनएसएलको पहिलो सिजन २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो।
दोस्रो सिजन २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म सञ्चालन गरियो। त्यसको एक वर्षपछि बल्लतल्ल तेस्रो सिजनको घोषणा भएको हो। आयोजक एनएसइएमका अनुसार तेस्रो सिजन आगामी चैत्र १६ (मार्च २९) बाट सुरू हुनेछ।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले तेस्रो सिजन थप रोमाञ्चक र अविस्मरणीय बनाउने तयारी रहेको बताए। उनले, “नेपाली फुटबलका भावुक फ्यानहरूका लागि यो सिजन थप रोमाञ्चक र अविस्मरणीय बनाउने तयारीमा छौं। हरेक सिजनले नयाँ आयाम थप्दै आएको र यो सिजनले पनि नेपालको फुटबललाई अझ उन्नत बनाउन विशेष योगदान दिनेछ।”