काठमाडौं। रेमन रेइफर नायक बन्दा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो।
पोखराको यो दोस्रो जित हो। पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो। तर, चितवन राइनोजसँग ८७, जनकपुर बोल्ड्स र कर्णाली याक्ससँग समान सात विकेटको हार बेहोर्यो।
यता, विराटनगरले पनि लुम्बिनीलाई नै दुई विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग आठ विकेट, सुदूरपश्चिम रोयल्ससँग ९० र कर्णालीसँग सात रनको हार बेहोरेको थियो।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएनन्।
दोस्रो बलमा जोशीले एक रन लिएका थिए। तेस्रो बलमा रेमन रेइफरले छक्का प्रहार गरेसँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो। तीन बलमा सात रन चाहिएको अवस्थामा बसिरले दुई बल डट राखे। तर, अन्तिम बलमा रेइफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए। सुपर ओभरमा पनि रेइफर नै नायक बने।
उनले कप्तान सन्दीपको पाँच बलमा १७ रन जोडे। आन्द्रे गौसले एक रन बनाएसँगै विराटनगरले सुपर ओभरमा १९ रनको लक्ष्य पाएको थियो। बलिङमा पनि उनै रेइफर आए। मार्टिन गप्टिल र निकोलस किर्टनलाई मात्रै पाँच रन दिँदै पोखरालाई दोस्रो जित दिलाए।
त्यसअघि पोखराका आन्द्रेस गौसले सर्वाधिक ३९ रन बनाए। २७ बल खेलेका उनले सात चौका प्रहार गरे। कप्तान कुशल भुर्तेलले ३१, दिनेश खरेलले ११ रन बनाउँदा रेइफर ३४ र नारायण जोशी दुई रनमा अविजित रहे।
विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए। चार ओभर गरेका उनले १८ रन खर्चिए। क्रिस सोलले दुई विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
विराटनगरका स्कट एडवार्ड्सले डेब्यु खेलमै सर्वाधिक ४५ रन बनाए। ३५ बल खेलेका उनले पाँच चौका प्रहार गरे। ओपनर लोकेश बम २६ रनमा आउट हुँदा निकोलस क्रिर्टनले १९ रन बनाए।
बसिर अहमद २१ र प्रतिश जिसी चार रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पोखराका सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए। कुशल भुर्तेल र दीपेश खरेलको नाममा समान एक विकेट रह्यो।