काठमाडौं । साउदी अरबले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने भएको छ ।
फिफा कांग्रेसले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार साउदी अरबलाई दिने निर्णय गरेको हो ।
पछिल्लो समय घरेलु फुटबलमा ठुलो धनराशी खर्च गरिरहेको साउदीले पुरुष विश्वकप फुटबल आयोजनाको अधिकार पाएको हो ।
यस्तै सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, मोरक्को र स्पेनले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफा कांग्रेसले यस विषयमा औपचारिक निर्णय गर्दै आयोजनाको अधिकार तीन देशलाई सुम्पिएको हो ।
सन् २०२३ को अक्टोबरमा विश्वकप आयोजनका लागि खुल्ला दर्खास्त आह्वान गरिएको थियो । पालैपालो विश्वकप आयोजना गर्ने महादेशीय चक्र अनुसार सन् २०३० को विश्वकप युरोप र सन् २०३४ को विश्वकप एसियाली देशले सञ्चालन गर्ने पक्का भएको हो ।
सन् २०३० मा विश्वकप आयोजनाको सय वर्ष समेत पुरा हुदैछ । सो अवसरमा अर्जेन्टिना, पाराग्वे र उरुग्वे समेत एक एक विश्वकप फुटबल अन्तर्गतको खेलको आयोजना गर्नेछन् ।