काठमाडौं। घरेलु टोली जिम्बाबेले तीन खेलको टी–२० आई शृंखलाअन्तर्गत पहिलो खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ।
बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो। योसँगै तीन खेलको शृंखलामा जिम्बाबेले १–० को अग्रता लिएको छ। अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य जिम्बाबेले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो।
अन्तिम ओभरमा जिम्बाबेलाई जितका लागि ११ रन चाहिएको थियो। पहिलो बलमा अजमातुल्लाह उमरजाईले तासिङ्गा मुसेकिवालाई चौका दिए। अर्को बलमा उनले दुई रन दिएपछि खेल थप रोचक बनेको थियो। तेस्रो बल पनि दुई रन दिए। चौथो बल डट राखे पनि पाँचौं बलमा मुसेकिवाले दुई र अन्तिम बलमा एक रन लिँदै जिम्बावेलाई जित दिलाए।
१३ बल खेलेका मुसेकिवा एक चौकासहित १६ रन बनाउँदै अविजित रहे। वेलिंग्टन मसाकाद्जाले पनि अविजित रहँदै ६ रन बनाए। जिम्बाबेले सुरुआत राम्रो गर्न नसके पनि ओपनर ब्रायन बेनेटले ४९ रनको इनिङ्स खेले। अर्धशतक बनाउन एक रनले चुकेका उनलाई १६.१ ओभरमा राशिद खानले बोल्ड गरेका थिए। ४९ बल खेलेका उनले पाँच चौका प्रहार गरे।
उनीबाहेक डायन मायर्सले ३२ र रायन बर्लले १० रन बनाए। जिम्बाबेका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अफगानिस्तानका नवीन उल हकले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित ३३ रन खर्चिए। कप्तान राशिदले दुई र मोहम्मद नाबीले एक विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि हारारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले करिम जन्नतको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
४९ बल खेलेका उनले पाँच चौकासहित ५४ रन बनाए। मोहम्मद नाबीले ४४ रनको योगदान दिँदा हजरतुल्ला जजाई २० र अजमातुल्लाहले १३ रनको योगदान दिए। जिम्बाबेका रिचर्ड नगर्भाले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चिए।