टाइब्रेकरमा गोलरक्षक विवेक नायक बन्दा रेडहर्स विजयी

इलाम। घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।
रेडहर्सलाई जित दिलाउन गोलरक्षक विवेक मगर नायक बने। टाइब्रेकरमा मगरले संकटाका कृपाकान्त चौधरीको प्रहार बचाएका थिए। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलका थिए। टाइब्रेकरमा रेड हर्सका अशोक खवास, हेमन लिम्बू, आयुश तिम्सिना र रोमन भुजेलको प्रहार गोलमा परिणत भएको थियो। संकटाका कप्तान कुलदीप कार्की, पुष्कर खड्का र रोशन पहारीको प्रहार गोलमा परिणत भएको थियो। कृपाकान्त चौधरीको प्रहार गोलरक्षक विवेक मगरले बचाउँदा युवराज ढकालको प्रहार बाहिरिएको थियो।
खेलको म्यान अफ द म्याच रेड हर्सका गोलरक्षक विवेक मगर घोषित भए। उनले ८ हजार १ सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र गोर्खा टेरोटेयिल आर्मी (जिटिए) भारत भिड्दै छन्।
खेलपछि प्रतिक्रिया दिँदै संकटा प्रशिक्षक प्रज्वल प्रतीप क्षेत्रीले रेफ्रीहरू र मैदानका कारण पराजय भोगेको बताए। उनले घाँसे मैदानमा अभ्यास गरेको खेलाडीहरूले इलामको मैदान कमजोर भएकाले पराजित भएको प्रतिक्रिया दिए। उनले आफ्ना खेलाडीहरू उत्कृष्ट भए पनि लामो समयको यात्राका कारण अपेक्षा अनुरूप नभएको बताए। आयोजकले रेफ्रीहरूलाई बोलाएर सपोर्ट गराएको आरोप लगाए। क्षेत्रीले आफ्ना दुई वटा अफसाइड नभएको बल र केही निर्णयहरू आयोजकको पक्षमा दिएको बताए।
रेडहर्सका प्रशिक्षक छिरिङ पासाङ शेर्पाले खेलमा जित्ने भए पनि फिनिसिङ अभावका कारण टाइब्रेकरमा पुग्नु परेको बताए। उनले स्थानीय खेलाडीहरू भए पनि प्राय जसो एउटै टिममा खेलेका कारण सहज भएको बताए। उनले विपक्षी टिमको विदेशी खेलाडीका कारण केही कठिन भएको बताए। उनले टिमका तीन जना नयाँ खेलाडी हुँदा केही असहज भए पनि लामो समय खेलाडीहरूलाई क्याम्प राखिएकाले आगामी खेलमा सुधार हुने बताए।












-1763904378702.png&w=3840&q=75)
