काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर अन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् ।
उनको वायोपिक ‘अन्जिला’ बनेको छ र यसको प्रिमियरका लागि उनी शुक्रबार हङकङ जांदैछिन् । उनी त्यतैबाट १२ डिसेम्बरमा ग्रिसको राजधानी एथेन्स उड्नेछिन् ।
युरोपेली फुटबल लिग खेल्ने दोस्रो नेपाली बन्ने संघारमा रहेकी उनलाई वायोपिकको टिमले वुधबार बिदाई गरेको छ ।
‘लामो प्रयासपछि युरोपेली फुटबलमा पाएको अवसरमा एकदम खुशी लागेको छ,’ २७ वर्षीया अन्जिलाले भनिन्, ‘सुपर लगमा उत्कृष्ट प्रदर्शन गर्दै अरु नेपाली खेलाडीका निम्ति पनि युरोपेली फुटबलमा अवसर खोल्न चाहान्छु ।’
उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गत सेप्टेम्बर, २०२४ मै सम्झौता गरेकी थिइन् । तर, भिसा प्रक्रिया र साफ महिला च्याम्पियनसिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् ।
उनले क्लबसँग मे, २०२५ सम्मका लागि हस्ताक्षर गरेकी छन् ।