काठमाडौं । नाथन टेल्लाको गोलसँगै डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजनले चिरपरिचित प्रतिद्वन्द्वी बायर्न म्युनिकलाई पराजित गर्दै जर्मन कपको अन्तिम आठको यात्रा तय गरेको छ ।
घरेलु टिम बायर्न भेट्रन गोलकिपर म्यानुएल नोयले १७ औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो । गोल गर्ने प्रयासमा रहेका जेरमी फ्रिम्पोङसँग पेनाल्टी क्षेत्रबाहिर जुधेपछि नोयलाई रातो कार्ड दिइएको थियो ।
एक खेलाडी बढी भएपनि लेभरकुजनले गोलको लागि ६९ औं मिनेट कुर्नुपर्यो । टेल्लाले एलेक्स ग्रिमाल्डोको क्रसमा बायर्नका सब्स्टिच्युट गोलकिपर डानिएल पेरेजलाई पन्छाउँदै गोलको खाता खोलेका थिए ।
भिन्सेन्ट कोम्पनीले सम्हालेको बायर्न घइते रहेका सर्बाधिक गोलकर्ता ह्यारी केन बिना नै मैदानमा ओर्लनुपरेको थियो । डिफेन्डर डायोट उपमेकानोले बराबरीको अवसर पाएका थिए तर उनको हेडर पोष्टबाहिर गयो । जोसुआ किमिचको कर्नरमा किङ्सले कोम्यानको हेडरले पनि पोष्टको दिशा लिएन । किम मीन–जाएको हेडर पनि फितलो रह्यो
प्रशिक्षक जाभी अलोन्सोले टिम सम्हालेयता लेभरकुजन जर्मन कपमा अपराजित रहेको छ र यसक्रममा उसले लगातार आठौं जित हात पारेको हो । २० पल्टको विजेता बायर्नले सन् २०२० यता जर्मन कपको ट्रफी जित्न सकेको छैन ।