काठमाडौं। आर्थिक संकट जनाउँदै कोशी प्रदेश फुटबल संघको टिमले एन्फा महिला लिग २०८१ को सुपर लिग नखेल्ने भएपछि बागमती युवा क्लब, सर्लाहीले अवसर पाएको छ।
पहिलो चरणको लिगमा शीर्ष पाँचमा रहँदै कोशी चितवनमा मंसिर २९ देखि पुस २७ गतेसम्म हुने सुपर लिगको लागि छनोट भएको थियो। बागमती भने पहिलो चरणमा छैटौं स्थानमा रहेको थियो। त्यसैले कोशीले नखेल्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुपर लिगमा बागमतीलाई बोलाउँदै मंसिर २१ गतेभित्र टिम दर्ता गर्न भनेको छ।
‘पाँचौं वरीयतामा रहेको कोशीले आर्थिक समस्या भएको भन्दै सुपर लिगमा सहभागी हुन नसक्ने पत्राचार गरेको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने, ‘त्यसैले छैटौं वरीयतामा रहेको बागमती युवा क्लबले सहभागी हुने अवसर पाएको हो। छैटौं स्थानको टिम पनि सहभागी नभए सातौं वरीयताको टिमले सुपर लिग खेल्ने मौका पाउनेछ।’
उनकाअनुसार चितवन महानगरपालिकाको सहयोगमा सञ्चालन एन्फा र चितवन जिल्ला फुटबल संघले आयोजना गर्ने सुपर लिगमा सहभागी प्रत्येक क्लबलाई बास बस्न तीन लाख र तयारीको लागि दुई लाख गरी कुल पाँच लाख रुपैयाँ उपलब्ध गराउने छ। सुपर लिगले सहभागी टिमले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन्।
गत भाद्र र असोजमा एन्फा कम्प्लेक्समा राउन्ड रोबिनको आधारमा सञ्चालित पहिलो चरणमा विभागीय तीन टिमसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ नगपालिका (१५) चौथो र कोशी प्रदेश (१४) पाँचौं स्थानमा रहेका थिए। बागमती (१०) छैटौं, संकटा (८) सातौं, चन्द्रपुर नगरपालिका (८) आठौं, कर्णाली प्रदेश (४) नवौं र सबै खेल हारेको सुदूरपश्चिम अन्तिम तथा दशौँ स्थानमा रहेका थिए।