काठमाडौं। रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा कम्तिमा ५६ जनाको मृत्यु भएको छ।
गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा आइतबार दुई प्रतिद्वन्द्वी टोलीका समर्थकबीचको झपडमा हताहत भएको सरकारले बताएको हो। मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्। सैनिक नेता ममाडी डोम्बोयाको सम्मानमा आयोजित प्रतियोगिताको फाइनलमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए।
रेफ्रीले भ्रमणकारी टोली लाबेका दुई खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। यसैक्रममा रेफ्रीले पेनाल्टीको दिएका थिए। उक्त पेनाल्टीमा गोल भएपछि समर्थकहरू आक्रोशित भएका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार भ्रमणकारी टोलीका समर्थकले रेफ्रीको निर्णयप्रति आक्रोश पोख्दै मैदानतर्फ ढुंगा प्रहार गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भागदौड मच्चिएको थियो।
घटनापछि अस्पताल र रंगशालामा भावविहील दृश्यहरू देखिएका छन्। एक चिकित्सकका अनुसार अस्पताल शवहरूले भरिएको छ। ‘केही भुईँमा राखिएका छन् र मृतकहरूमा बालबालिकाहरू पनि छन्,’ उनले भने।
एनजेरेकोरेको रंगशाला हजारौं दशर्कले भरिएको थियो। त्यहाँ एउटा मात्र गेट रहेकोले भागदौड थप भयावह भएको बताइएको छ। स्थानीय पत्रकार पल साकोउभोगीका अनुसार दर्शक पर्खाल चढेर भाग्ने प्रयास गरेका थिए। तर, गेट सानो भएकाले धेरैले भाग्न सकेनन्।
विपक्षीहरूले यो खेललाई राष्ट्रपति समर्थक जुटाउने उद्देश्यले आयोजना गरिएको आरोप लगाएका छन्। गुएनाका प्रधानमन्त्री ओरे बाहले घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले दोषीलाई कडा कारबाही गर्ने दाबी प्रतिबद्धता व्यक्त गरेका छन्। गिनीको फुटबल निकाय फेगुइफुटले यसलाई दुःखद् क्षण भन्दै फुटबलले एकता र भाइचारा बढाउनुपर्नेमा जोड दिएको छ।
गुएनालाई अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्न प्रतिबन्ध लागेको छ। अफ्रिका कप अफ नेसन्स क्वालिफायर्सका घरेलु खेलहरू छिमेकी राष्ट्र आइभोरी कोस्टमा आयोजना गरिरहेको छ। भागदौडको यो घटनाले गुएनाको फुटबल व्यवस्थापन र खेल स्थलहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।