काठमाडौं। नेपाली युवा फुटबलको विकास र प्रवर्द्धनका लागि लोयल्टी एकेडेमी र हिमालयन शेर्पा क्लबबीच सोमबार सहकार्य भएको छ। यो सहकार्यले नेपाली युवा फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
एन्फा यु-१६ फुटबल प्रतियोगिताको अवसरमा लोयल्टी एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फे र हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे।
यो साझेदारीले युवा खेलाडीहरूलाई लक्षित गर्दै विभिन्न योजनाहरूमा काम गर्ने र प्रतियोगिताहरूको आयोजना गर्ने लक्ष्य लिएको छ। १६ वर्षमुनिका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, उच्च स्तरमा प्रतिस्पर्धा गर्ने र व्यावसायिक फुटबलको अनुभव हासिल गर्ने प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ।
लोयल्टी एकेडेमीका अध्यक्ष सम्भाहाम्फेले यो सहकार्यबाट युवाहरूलाई अवसर दिन पाउँदा उत्साहित भएको बताए।
त्यस्तै, हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पाले यो सहकार्यले युवा प्रतिभालाई प्रोत्साहित गर्दै टिमवर्क र अनुशासनजस्ता गुणहरू विकास गर्न मद्दत गर्ने धारणा व्यक्त गरे।