काठमाडौं। केलियन एमबाप्पेले रियल मड्रिडका समर्थकसामू आफ्नो प्रदर्शन सुधारको संकेत दिएका छन्। स्पेनिस ला लिगाअन्तर्गत रियलले आइतबार राति गेटाफेमाथि २–० को सहज जित निकाल्दा एमबाप्पेले गोल गरे।
यो सिजन रियलमा आबद्ध भएयता उनी आलोचनाको सामना गरिरहेका थिए। उनले ३८औं मिनेटमा गोल गर्दै सान्टियागो बेर्नाबेउ रंगशालामा रियलको जित सुनिश्चित गरे।
यसअघि बुधबार च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध एमबाप्पेले पेनाल्टी गुमाएका थिए। पछिल्ला केही खेलमा खराब प्रदर्शन देखाइरहेका जुड बेलिङ्घमले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि उनले एमबाप्पेको गोलमा पनि सहयोग गरे।
एमबाप्पेले पछिल्ला ६ खेलमा मात्र एक गोल गरेका थिए। तर, यस खेलमा उनको प्रदर्शन प्रभावशाली देखियो। रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले निकै राम्रो खेले। सक्रिय थिए र सधैंजस्तै खतरनाक देखिए। उनले गोल गरे र अवसर सिर्जना गरे। हामी उनलाई यस्तै देख्न चाहन्छौं।’
तर, एमबाप्पे आफ्नो उत्कृष्ट लयमा अझै फर्किएका छैनन्। पेनाल्टी किक बेलिङ्घमले लिएका थिए। प्रशिक्षक एन्सेलोट्टीले पेनाल्टीको प्राथमिकता एमबाप्पे र भिनिसियस जुनियरलाई दिइएको बताए। भिनिसियस अनुपस्थित हुँदा बेलिङ्घमले जिम्मेवारी लिएका थिए।
यो जितसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अंक तालिकामा एक अंकले पछि परेको छ। बार्सिलोनाले शनिबार लास पाल्माससँग २–१ को हार बेहोरेको थियो। बार्सिलोनाको १५ खेलबाट ३४ अंक छ। एक खेल कम खेलेको रियलको ३३ अंक छ।
रियलका डिफेन्डर एन्टोनियो रुडिगरले भने, ‘ला लिगामा पछिल्लो जितले हाम्रो आत्मविश्वास बढाएको छ। तर, रियलले सधैं उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ। हामीलेअझै सुधार गर्नैपर्छ।’
त्यस्तै, एथ्लेटिको मड्रिडले भालाडोलिडलाई ५–० को फराकिलो अन्तरले हरायो। एथ्लेटिकोले च्याम्पियन्स लिगका पाँचमध्ये तीन खेलमा हार व्यहोरेको छ भने ला लिगामा लगातार तीन जित हात पारेको छ।
अन्य खेलमा भिल्लारियलले जिरोनासँग २–२ गोलको बराबरी खेलेको छ। एथ्लेटिक बिल्बाओले रायो भालेकानोमाथि २–१ को जित निकाल्दा रियल सोसिडाडले रियल बेटिसलाई २–० ले पराजित गर्यो।