काठमाडौं। बार्सिलोना यस सिजन मै पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लास पाल्मासले २–१ को जित हासिल गर्दै ऐतिहासिक नतिजा निकालेको हो। क्यानरी आइल्यान्ड्स क्लबले क्याटलानमा ५० वर्षपछि पहिलो जित हासिल गरेको हो।
लास पाल्मासका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे। बार्सिलोनाका नयाँ प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा उत्कृष्ट सुरुआत गर्दै बार्सिलोनाले घरेलु मैदानमा लगातार आठ खेल जितेको थियो। टोलीले रियल मड्रिड र च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई पराजित गरेको थियो। तर, पछिल्ला तीन ला लिगा खेलमा टोलीले जित निकाल्न सकेको छैन।
लास पाल्मासभन्दाअघि बार्सिलोना रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो भने सेल्टा भिगोविरुद्ध अन्तिम मिनेटमा दुई गोलको अग्रता गुमाएको थियो। यो हारसँगै बार्सिलोनाले रियलसँग अंक दूरी सातमा पुर्याउने मौका गुमाएको छ।
बार्सिलोनाका फरवार्ड राफिन्हाले टोलीको हालको प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामीले के गलत गरिरहेका छौं भन्ने गम्भीर विश्लेषण गर्नुपर्छ। लिग जित्नका लागि खेल बदल्न आवश्यक छ।’ बार्सिलोनाको अर्को खेल मंगलबार मालोर्काविरुद्ध हुनेछ।
लास पाल्मासले सन् १९७१–७२ यता बार्सिलोनामा पहिलो जित दर्ता गरेको हो। टोलीले हालसम्म क्याम्प नोउमा जम्मा तीन पटक मात्रै जित निकालेको छ। खेलपछि सान्ड्रो रामिरेजले भने, ‘यो ऐतिहासिक जित हो। कडा मेहनतकै कारण हामी यस्तो उपलब्धि हासिल गर्न सफल भयौं।’
रामिरेजले ४९औं मिनेटमा पाँच पासको उत्कृष्ट संयोजनमा गोल गर्दै लास पाल्मासलाई अग्रता दिलाए। तर, राफिन्हाले ६१औं मिनेटमा पेद्रीको पासमा बराबरी गोल फर्काए। फाबियो सिल्भाले ६७औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
बार्सिलोनाका युवा खेलाडी लामिन यमल घुँडाको चोटका कारण तीन सातासम्म मैदानबाहिर थिए। खेलमा उनी हाफटाइमपछि मैदानमा फर्किए तर गोलकिपर ज्यास्पर सिलेसेनले उनको उत्कृष्ट प्रहार बचाए।
यस्तै, लेफ्ट ब्याक अलेजान्ड्रो बाल्डे खेलको सुरुमै घाइते भएका थिए। रामिरेजसँगको ठोक्किँदा उनको छाती र घाँटीमा चोट लागेको थियो। उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो।
बार्सिलोनाको १२५औं वार्षिकोत्सवको अवसरमा नयाँ मस्कट क्याट सार्वजनिक गरिएको थियो। पहेंलो बिरालोको रूपमा डिजाइन गरिएको मस्कटको डेब्यु भए पनि टोलीको अनपेक्षित हारले उत्सवलाई खल्लो बनायो।