काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ४०औं गभर्ननर्स गोल्डकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
सिक्किमको पाल्जोर स्टेडियममा मंगलबार भएको खेलमा चर्च ब्वाइज इन्डियन सुपर लिग (आइएसएल) टोली चेन्नाइयिन एफसी (रिजर्भ टोली) सँग पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो।
चर्च ब्वाइज गत साउनमा दशरथ रंगशालामा भुटानी लिग च्याम्पियन पारो एफसीविरुद्ध २–१ ले हारेपछि एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाउन असफल भएको थियो। र, यो क्लब त्यसयता पहिलोपल्ट प्रतियोगितामा फर्किएको थियो। तर, चर्च ब्वाइजले तीन महिनापछिको पुनरागमन सुखद् बनाउन सकेन र १–० ले चेन्नाइयिनलाई नतिजा सुम्पियो।
विदेशी टोली भएको कारण आयोजकले चर्च ब्वाइजलाई सिधै अन्तिम आठमा प्रतिस्पर्धा गराएको थियो। तर, विशाल आरले ८५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। योसँगै चेन्नाइयिन सेमिफाइनल प्रवेश गरेको छ।
खेलको म्यान अफ द म्याच विशाल नै भएका थिए। बुधबार पहिलो सेमिफाइनलमा नर्थइस्ट युनाइटेड एफसी र गोकुलम (केरला) एफसी भिड्ने छन्।
पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो। उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो।