काठमाडौं। राष्ट्रिय टोलीको जर्सी लगाइसकेकाको लर्को लागेर विदेश पलायन, खेलपिच्छे टोलीमा नयाँ–नयाँ खेलाडीको आगमन तथा डेब्यु र लगातारको खराब प्रदर्शन। पछिल्लो समय नेपाली फुटबलमा देखिएका कुरूप दृश्य हुन् यी। त्यसैले खेल विश्लेषकले पनि प्रश्न गर्न थालिसकेका छन्– कतै नेपाली फुटबल नै मर्ने त होइन?
प्रश्न उब्जिनु जायज नै हो। २०८० जेठ २७ गते ‘ए’ डिभिजन सकिएयता सिनियर खेलाडीले घरेलु प्रतियोगिता खेल्न पाएका छैनन्। अझ पाँच महिनादेखि त यो टोली अन्तर्राष्ट्रिय खेलबाटै वञ्चित रहनुपर्ने अवस्था थियो। कुनै प्रतिस्पर्धात्मक खेल नै नहुँदा खेलाडी पनि अस्तव्यस्त अवस्थामा थिए। यही बीच दुई हप्ताको मात्रै तयारी गरेर ताजिकिस्तानको राजधानी डुसान्बे पुगेको नेपाली टोलीले वरीयतामा आफूभन्दा २५ स्थान माथि रहेको अफगानिस्तानलाई १३ वर्षपछि हरायो।
२–० को उक्त जितसँगै नेपाली टोलीले आफूमा क्षमता पर्याप्त रहेको तर प्रस्फुटन गर्ने मञ्च नपाएको प्रस्टाएको छ। त्यसैले बेलाबखत नै सही, यस्ता प्रतियोगिता र आउने नतिजाले भए पनि नेपाली फुटबल मर्ने नदिने बताउँछन् राष्ट्रिय टोलीका फरवार्ड जेलेस्पिजंघ कार्की।
‘जो नेपाली फुटबलको सच्चा समर्थक हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने नेपाली फुटबल मर्दैन। त्यसैले सपोर्ट गरिरहनु होला,’ उनी भन्छन्। पछिल्ला तीन खेलमा दुई गोल गरेका कार्कीले अफगानिस्तानविरुद्ध ४६औं मिनेटमै नेपालाई सुरुआती अग्रता दिलाएका थिए। ७८औं मिनेटमा रोहित चन्दले अर्को गोल गर्दै नेपाललाई २–० को जित दिलाए।
पहिलो खेलमै बलियो टोली, त्यसमाथि दुई हप्ताको मात्रै प्रशिक्षणको अवसर पाएर ताजिकिस्तानविरुद्ध उत्रिएको नेपालले खेलमा निकै संघर्ष गर्नुपर्याे। एकैपल्ट यति बलियो टोलीसँग खेल्दा पहिलो हाफमा राम्रो गर्न नसकेको उनी स्वीकार्छ।
उक्त खेलमा नेपालले पहिलो हाफमै तीन गोल बेहोरको थियो। तर, दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्दै एक गोल मात्रै खान पुग्यो। खेल ४–० ले हारे पनि अर्कोपल्ट यही टोलीसँग खेल्न पाए राम्रो चुनौती दिनेमा उनी विश्वस्त देखिन्छन्।
‘टिमले धेरै पछि आएर खेल्न पर्यो। घरेलु टोलीसँगको त्यो खेलबाट सिकेर अफगानिस्तानविरुद्ध खेल्दा राम्रो नतिजा आयो। यो लयलाई हामी निरन्तरता दिने छौं। त्यसैले अर्कोपल्ट ताजिकिस्तानसँग खेल्यौं भने राम्रो चुनौती दिनेमा म ढुक्क छु,’ उनले भने।