काठमाडौं। एड्रिएन राबिओटको दुई गोलको मद्दतमा फ्रान्सले इटालीलाई ३–१ गोलअन्तरले पराजित गर्दै युइएफए नेसन्स लिग ‘ए’ समूह–२ को शीर्ष स्थानमा उक्लिएको छ। सन् १९८३ पछि इटालीले घरेलु मैदानमा भएको खेलमा दुई वा दुईभन्दा बढी गोलले हारेको यो पहिलो पटक हो।
मिलानमा भएको खेलअघि दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका थिए। तर, फ्रान्सलाई शीर्ष स्थानमा पुग्न कम्तीमा दुई गोलको जित आवश्यक थियो।
राबिओटले भने, 'हामीले यस्तो खेल नखेलेको केही समय भइसक्यो। 'हामीले देखाएको आक्रामकता, हाम्रो टिम स्पिरिट र त्यो सबै हाइलाइट हुनुपर्छ। यो नै फ्रान्सको टोलीको वास्तविक अनुहार हो।
रबिओटले दुई मिनेटभित्रै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा लुकास डिग्नेले २५ यार्ड टाढाबाट फ्रिकिकमा आएको बललाई बचाउने प्रयास गर्दा आत्मघाती गोल हुन पुग्यो। जियानलुइगी डोनारुम्मा पेटको बिरामीका कारण यो खेलमा उपस्थित थिएनन्।
त्यसको दुई मिनेटपछि माइक माइग्नानको पासमा आन्द्रेया क्याम्बियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, राबिओटले ६५औं मिनेटमा अर्को हेडरमार्फत आफ्नो दोस्रो गोल गरे। योसँगै इटालीले सेट प्लेबाट लगातार छैटौं गोल बेहोर्यो।