काठमाडौं। ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
अस्थायी मुख्य प्रशिक्षक ली कार्स्लेको अन्तिम खेलमा आयरल्यान्डलाई ५–० ले पराजित गर्दै इङ्ल्यान्डले प्रतियोगिताको अर्को संस्करणमा पुनरागमन गर्ने सुनिश्चित गरेको छ।
‘इङ्ल्यान्डको टोली हेर्न रोमाञ्चक होस् भन्ने चाहन्थें। प्रशिक्षणमा दिनदिनै यो काम गरिरहेका थियौं। र अब हामीले यसलाई (मैदानमा) देखेका छौं,’ कार्स्लेले भने। इङ्ल्यान्डले दोस्रो स्थानको ग्रीसलाई २–० गोलअन्तरले पराजित गरेको थियो। तर, ग्रीसको पनि समान ६ खेलबाट १५ अंक छ।
वेम्बलीमा ५३औं मिनेटमा केनले पेनाल्टीमार्फत इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। लाईम स्केल्सले डिबक्सभित्र उनलाई लडाएपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसको दुई मिनेटपछि एन्थोनी गोर्डन र ५८ औं मिनेटमा कोनोर गालाघरले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाए।
सब्स्टिच्युट खेलाडी जारोड बोवेनले ७५औं मिनेटमा पहिलो गोल गरे भने त्यसको चार मिनेटपछि टेलर हरवुड बेलिसले अर्को गोल थपे। ‘यो हाम्रो लागि निकै महत्त्वपूर्ण जित हो। पहिलो हाफ निकै कठिन थियो, तर दोस्रो हाफमा हामीले धेरै ऊर्जाका साथ खेल्यौं र हामीले यसलाई अन्त्य गर्यौं,’ केनले भने।
जनवरीमा नयाँ मुख्य प्रशिक्षक थोमस टुचेललाई स्वागत गर्न लागेको इङ्ल्यान्डले ६ खेलबाट पाँच जित हात पारेको छ। कार्स्ले अब इङ्ल्यान्डको २१ वर्षमुनिको टोलीको मुख्य प्रशिक्षकको स्थायी भूमिकामा फर्किनेछन्।
टुचेलले सन् २०२६ को विश्वकपमा छनोट हुने अभियानको नेतृत्व गर्नेछन्। कार्स्लेले आफ्नो छोटो अवधिमा आठ खेलाडीहरूलाई डेब्यु गराए।