एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डले गोल बर्षा गरेको छ । कप्तान ह्यारी केनको ह्याट्रिकमा इङ्ल्याण्डले पानामालाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।
जितसंगै इङ्ल्याण्ड समूह जी बाट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । पछिल्लो हारसंगै पानामा विश्वकपबाट बाहिरिएको छ । नोभगोरोड स्टेडियमा इंग्ल्यान्डका स्टोनले खेलको आठौ मिनेटमा हेड गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए । ३६ औ मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितीमा पुर्र्याए ।
स्टोनले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फराकिलो अन्तरको अग्रता निकालेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा केनले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै इङ्ल्याण्डलाई ५–० को अग्रता दिलाए ।
केनले ६३ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीको फराकिलो अन्तरको जित निश्चित गरे । पानामाका बालोयले ७८ औ मिनेटमा एक गोल गरे फर्काए ।
इङ्ल्याण्डको जितसँगै बेल्जियम पनि एक खेल अगाबै नकआउट चरणमा पुगेको छ । पानामा र ट्युनिसिया एक खेल बाँकी रहदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम खेलमा इङ्ल्याण्डले बेल्जियमसँग र पानामाले ट्युनिसियासँग खेल्ने छ । इङ्ल्याण्डर बेल्जियमको खेलले समूह बिजेताको तय लाग्ने छ ।