काठमाडौं । बागमती प्रदेशको बुधबार भएको मन्त्रीपरिषद बैठकले दीपक लामालाई प्रदेश खेलकुद विकास परिषद बागमतीको सदस्यसचिव नियुक्त गरेको छ ।
गत असारमा सूर्यलाल भण्डारीको कार्यकाल सकिएपछि रिक्त रहेको प्रदेश खेलकुदको सदस्यसचिवमा लामालाई नियुक्त गरिएको हो । बेल्कोटगढी, नुवाकोटका ४६ वर्षीय लामा नेपाल उसु महासंघमा २०६७ सालयता निरन्तर उपाध्यक्ष पदमा रहेका छन् ।
अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका उनले दक्षिण एसियाली उसु महासंघमा आठ वर्षयता कोषाध्यक्ष सम्हाल्दै आएका छन् ।
नेपाल नेटबल संघ (सन् २०१०) का संस्थापक अध्यक्षसमेत रहेका लामाले भने, ‘वास्तवमा खेलकुदलाई जहिल्यै गहनाको रुपमा लिइयो । तर, गहना सजावटका लागि अंगलाई चाहएिको बेलामात्रै उपयोग गरिन्छ । त्यसैले खेलकुदलाई अंगको रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता हो, जहाँ खेलकुदलाई छुँदाखेरि अंग दुख्नुपर्छ । अंगकै रुपमा खेलकुदलाई लाने योजनासाथ काम गर्नेछौं ।’
उनले राष्ट्रिय खेलकुद परिषदमा प्रशिक्षक नियुक्ति भई २०५४ सालमा नुवाकोटमा ६ महिना प्रशिक्षण पनि दिएका थिए । उसु खेलाडीको रुपमा राष्ट्रिय प्रतियोगितासम्म खेल्न भ्याएका उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग २०१९) मा नेपाली उसु टिम (सान्सौ) का म्यानेजरको भूमिका निर्वाह गरेका थिए । उनी स्वयम्भू उसु क्वानका संस्थापक (२०५६ साल) पनि हुन् ।