काठमाडौं। पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको निर्देशन पदको बढुवामा असन्तुष्टि जनाउँदै संगीना वैद्यले राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबार शून्य समयमा बोल्दै उनले राज्यले पहिलो महिना निर्देशक पाउने अवस्थामा सत्तारुढदल नेपाली कांग्रेसबाट युवा तथा खेलकुदमन्त्री बनेका तेजुलाल चौधरीले आफूनिकट व्यक्तिलाई नियुक्त गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
‘मन्त्री (तेजुलाल चौधरी)को ठाडो हस्तक्षेपले पार्टीका क्याडरलाई नियुक्ति गर्नु कानुनको उल्लघंन र अपमान हो। संगीनाजस्ता खेल खेल्ने खेलाडीले राष्ट्रको नभई पार्टीको झन्डा बोक्नुपर्ने हो?,’ उनले प्रश्न गरे।
खेलकुदमन्त्री चौधरीले वरीयता मिच्दै शुक्रबार आफ्नो पार्टी कांग्रेसनिकट शोभितराज प्रसाईंलाई विभागको निर्देशनमा नियुक्त गराएपछि संगीनाले आइतबार राजीनामा दिएकी थिइन्। विभागका निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएका थिए। उक्त पदमा उपनिर्देशकको रूपमा कार्यरत रहेकी संगीनाले पाउनुपर्ने थियो।
यसअघि पनि राखेपले उपनिर्देशकहरूबाट वरिष्ठताको आधारमा निर्देशकमा नियुक्त गर्दै आएको थियो। शोभितराजभन्दा संगीना एक महिनाले वरिष्ठ हुन्।
खेलकुदमा पछिल्लो समय फोहोरी राजनीति भएको भन्दै श्रेष्ठले दुखेसो पोखे। त्यसैले यस्तो राजनीति बन्द गर्नुपर्ने उनले भनाइ थियो। ‘खेलाडीको सम्मानमाथि खेलबाड गर्न पाइँदैन। राष्ट्रको प्रतिनिधित्व गरेको खेलाडीको अपमान यो देशले सहन सक्दैन। अति गर्नू, अत्याचार नगर्नू। सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने।
संगीना छनोटचरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन्। उनले २००४ को ग्रिस ओलम्पिकमा छनोटचरण पार गरेर प्रतिस्पर्धा गरेका थिइन्। यस्तै, आठौं र नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।