काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २० औं एसियाली खेलकुद र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मिसन–२०२६ अन्तर्गत आ.व. २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो पदभार ग्रहण गरेपछि खेलकुद विमा र राष्ट्रिय टिम तयारीलाई विशेष प्राथमिकता दिएको बताउँदै दुवै मुख्य कार्य पूरा भएको बताए।
उक्त अवसरमा घिसिङले आ.व. २०८१/०८२ को विशेष प्रशिक्षण पनि चाँडै सुरु हुने घोषणा गरेका छन्। नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको यो पहिलो पटक हो।
राखेपले २०८० साल माघ १५ देखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो, र बक्सिङलाई समावेश गरी विशेष प्रशिक्षण सुरु गरेको थियो। दोस्रो चरणमा, २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती, र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्याइएको थियो। जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन–२०२६ को सुरुवात गरिएको हो।
कार्यक्रममा राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, र प्रशिक्षकको उपस्थिति रहेको थियो।