काठमाडौं। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ सेफ द मिसनको भूमिकासहित पेरिस ओलम्पिक २०२४ मा सहभागि हुने भएका छन्।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले तयार पारेको सूचीअनुसार सदस्यसचिव घिसिङको नेतृत्वमा नेपाली टिम पेरिस ओलम्पिकमा सहभागि हुने भएको हो। उनी गत वर्ष चीनको हाङ्जोउमा भएको एसियाली खेलकुदमा पनि सेफ द मिसनको जिम्मेवारीमा रहेका थिए। जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्समा हुने पेरिस ओलम्पिकमा एनओसी उपाध्यक्ष चतुरानन्दराज वैद्यलाई ओलम्पिक अट्याची र कार्यकारी सचिव सुजनलाल श्रेष्ठलाई वेल्फेयर अफिसर तोकिएको छ।
३३ औं गृष्मकालीन ओलम्पिकमा छनोट भएका दुईसहित नेपाली ७ खेलाडी सहभागि हुँदैछन्। ७ खेलाडीसहितको टिमको लागि एनओसीले प्रधानमन्त्री, मन्त्री, एनओसी अध्यक्ष र महासचिवबाहेक पनि पेरिस उड्ने २६ जनाको सूची तयार पारेको हो।
छनोट पार गरेका टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानसहित पौडीका अलेक्जेन्डर शाह, डुआना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले प्रतिस्पर्धा गर्दैछन्।
पेरिस जाने एनओसीको सूचीमा प्रशिक्षक ५, टिम अफिसियल (म्यानेजर) ७, चिकित्सक १, अफिसियल १ र पत्रकार २ जना छन्। तर, ब्याडमिन्टन प्रशिक्षक अटाएका छैनन्। दुई खेलमा सम्बन्धित खेल संघका म्यानेजरलाई पनि समावेश गरिएको छैन।