काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनिक कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सोमबारको सदस्य–सचिवस्तरीय निर्णयअनुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्राचार गरी सो निर्देशन दिइएको हो।
कार्य सम्पादनको सिलसिलामा राखेपमा पेस हुन आएका पत्र, फाइललगायतका कागजातहरू कारबाही प्रक्रियामा ढिलासुस्ती भई गुनासो आएको भन्दै तत्काल गुनासोलाई सम्बोधन गर्न भनिएको छ।
आगामी दिनमा राखेपका काम, कारबाही चुस्त दुरुस्त रूपमा सम्पादन गर्न सबै विभाग तथा शाखाहरूलाई वित्तीयसम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य रूपमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।