काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदको क्यालेन्डर सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको पदभार सम्हालेर पहिलो निर्णय गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यवसायीक बनाउन क्यालेन्डर सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राखेपले खेलकुदको बार्षिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले प्रतियोगिताका लिगहरु निरन्तर सञ्चालन नहुने र खेलाडीले खेल्न नपाउने अवस्थामा रहेको भन्दै राखेपलाई निर्देशन दिने निर्णय भएको बताए ।
राखेपले विभिन्न खेलकुद संघमार्फत आफ्ना वार्षिक कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । तर बजेटको अभाव र खेल संघको उदासिनताका कारण धेरै खेलका प्रतियोगिताहरु नियमित हुन सकेका छैनन् । खेल संघभित्रको आन्तरिक विवादका कारण समेत खेलकुद लिगहरु नियमित रुपमा सञ्चालन हुन सकेका छैनन् ।
नियमित लिग नहुने अवस्थामा क्यालेन्डरनै बनाएर कार्यान्वयन गर्न नवनियुक्त मन्त्रीले राखेपलाई निर्देशन दिएका हुन् । ‘खेलाडीले खेल्न छाडे, बाहिरको मान्छेले खेल्न थाल्या छन् । खेलाडी बाहेक अरुले खेल्न नहुने गरि काम गर्छौ ।’ मन्त्री श्रेष्ठले भनेका छन् ।