एजेन्सी । फिफा विश्वकप फुटबलमा ट्युनिसियाविरुद्ध जारी खेलमा बेल्जियमले २ - १ को अग्रता अग्रता बनाएको छ ।
मस्कोस्थित स्पार्टक रंगशालामा जारी रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिमा ट्युनिसियाले १ गोल फर्काउदै खेल रोमान्चक बनाएको छ ।
खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गरे । ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो । जसमा हाजार्डले सहजै गोल गरे ।
त्यसपछि खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए । तर, खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २ - १ मा ल्याएका छन् ।
समूह जी मा रहेको बेल्जियम आज ट्युनिसिया विरुद्ध जित निकाल्दै ६ अंक जोडेर नकआउट चरणमा पुग्न चाहन्छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३ - ० ले हराएको थियो । बेल्जियम ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ ।
ट्युनिसियालाई पनि यो खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा अन्तिम समयमा चुक्दाको परिणाम ट्युनिसियालाई समूह चरण पार नगर्ने स्थितिमा पुर्राएको छ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्यान्डसँग २ - १ ले पराजित भएको थियो । त्यसैले यो खेल जित्दै ट्युनिसिया दोस्रो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
यसअघि दुई टोलि ३ पटक खेलेका छन् । सन् १९९२ मा भएको मैत्रीपूर्णमा ट्युनिसियाले २ – १ जितेको थियो । सन् २००२ को विश्वकपले दुई टोलीले १ – १ गोलको बराबरी खेलेको थियो । सन् २०१४ को मैत्रीपूर्णमा भने बेल्जियमले १ – ० को जित निकालेको थियो ।