कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपीएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो।
घोडाघोडीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६ दशमलव ५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो।
लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए। कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए। घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिदै लिटल फ्लावरको इनिङ्स धरासायी बनाए।
प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नवयुग बस्नेतले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो। घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए। बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए ।
लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए । जुन क्रममा ३ दशमलव ५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३, कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए।
दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ्ग सेन्टरलाई ३४ रनले पराजित गर्यो।
कैलालीले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको खप्तडले १७ दशमलव ४ ओभरमा १ सय ५ रन बनाउदा सबै विकेट गुमायो।
खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० तथा अरुण रानाले १२ रन बनाए। कैलालीका बलर नरेन साउदले ४ विकेट लिए । उनले सो क्रममा ३ ओभरमा १५ रन खर्चिए।
दिपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दिपक रोकाया, डबल ऐर र राहुल केसीले १,१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो।
कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा ओपनिङ्ग ब्याटिङ्ग गर्दै अविजित ५४ रन बनाए। प्लेयर अफ द म्याच समेत घोषित ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। शुदांशु रावलले १९ रन बनाउदा हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १० रन बनाए।
खप्तडको बलिङ्गमा अरुण रानाले ३ तथा रवी विष्ट र नगेन्द्र उपाध्यायले २-२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत भोलि बिहिबार दुई खेल हुनेछन्।
पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र शारदा सेकेण्डरी स्कुलबीच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स-११ सुपर स्टार्सबीच खेलिनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।