४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) अक्सनमा कीर्तिमानी रकमा बिकेका अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन एसेज सिरिजको तेस्रो टेस्टमा असफल रहे।
बुधबारदेखि एडिलेडमा सुरु भएको तेस्रो टेस्टको पहिलो इनिङ्समा ग्रीन खाता नै नखोली पभेलियन फर्किएका हुन्। उनले दुई बल खेले र जोफ्रा आर्चरको बलमा ब्राइडन कार्सलाई क्याच दिए।
कोलकाता नाइट राइडर्सले मंगलबार मात्र उनलाई आइपीएलको अक्सनमा २५ करोड २० लाख भारु (झन्डै ४० करोड ३२ लाख रुपैयाँ नेपाली) मा उनलाई खरिद गरेको थियो।
इङ्ल्यान्डका तीव्र गतिका बलर आर्चरले ग्रीनलाई कुनै मौका दिएनन्। आर्चरको तीव्र र सटिक बलमा ड्राइभ खेल्ने प्रयास ग्रीनका लागि महँगो सावित भयो र उनी क्याच आउट भए। आइपीएल अक्सनमा ठूलो रकम पाएको कारण समर्थकहरूले उनीबाट ठूलो इनिङ्सको अपेक्षा गरेका थिए।
तर, टेस्ट क्रिकेटको दबाब र परिस्थितिले उनलाई जम्न मौका दिएन। ग्रीन सुरुदेखि नै चर्चामा रहेका खेलाडी हुन्। अस्ट्रेलियाका यी अलराउन्डरलाई कोलकाताले किन्यो। उनको बेस प्राइस २ करोड भारु थियो। तर, उनी करिब १३ गुणा बढी मूल्यमा बिके। यससँगै उनी आइपीएल इतिहासका तेस्रो सबैभन्दा महँगा र सबैभन्दा महँगा विदेशी खेलाडी बने।
ग्रीनको नाम गल्तीवश ब्याटरको सूचीमा समावेश गरिएको थियो। उनको नाम आउँदै गर्दा चार फ्रेन्चाइजीले आक्रामक बोली लगाए। सुरुमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भयो।
त्यसपछि कोलकाता प्रवेश गर्यो। अन्तिम चरणमा चेन्नई सुपर किंग्स र कोलकाताबीच रोचक भिडन्त देखियो। अन्ततः कोलकाताले बाजी मार्दै ग्रीनलाई आफ्नो टोलीमा भित्र्यायो। यससँगै कोलकाताले आन्द्रे रसेलको विकल्प पनि पाएको छ। रसेलले यसअघि नै आइपीएलबाट सन्न्यास लिएका छन्।










%20(2)-1765947464452.png&w=3840&q=75)

