एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह जीमा रहेको बेल्जियम र ट्युनिसियाबीचको खेल सुरु भएको छ ।
मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियम र ट्युनिसियाको खेल सुरु भएको हो । दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
ट्युनिसिया विरुद्ध जित निकालेमा बेल्जियम ६ अंक जोडेर नकआउट चरणमा पुग्ने छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३ - ० ले हराएको थियो । र, ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ ।
ट्युनिसियालाई पनि यो खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा अन्तिम समयमा चुक्दाको परिणाम ट्युनिसियालाई समूह चरण पार नगर्ने स्थितिमा पुर्राएको छ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्यान्डसँग २ - १ ले पराजित भएको थियो । त्यसैले यो खेल जित्दै ट्युनिसिया दोस्रो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
यसअघि दुई टोलि ३ पटक खेलेका छन् । सन् १९९२ मा भएको मैत्रीपूर्णमा ट्युनिसियाले २ – १ जितेको थियो । सन् २००२ को विश्वकपले दुई टोलीले १ – १ गोलको बराबरी खेलेको थियो । सन् २०१४ को मैत्रीपूर्णमा भने बेल्जियमले १ – ० को जित निकालेको थियो ।